ढाका। नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेका छन्। ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाका खेलाडीसँग पराजित भएका थिए।

ती जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुईसित २१–८ र २१–७ अङ्कले पराजित भएको प्रशिक्षक किरण थापाले जानकारी दिए। यसअघि जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बङ्गलादेशका खेलाडीलाई हराएका थिए। सो ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मङ्सिर २९ गते बङ्गलादेशतर्फ प्रस्थान गरेको थियो।

बङ्गलादेश जुनियर इन्टरनेसनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले सहभागिता जनाएका थिए। नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गरेका थिए। प्रतियोगितामा बङ्गलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडी सहभागी थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।