प्रिय,
स्वदेशमा नै झिटीझाम्टा बोकेर गन्तव्यमा हिँडिरहेका पाइलाहरू,
विदेशमा साँघुरो कोठाको कुनामा मोबाइलको स्क्रिन हेर्दै सरकारले उद्धार गर्ने आशामा बाँचेका परदेशी नयनहरुमा मेरो नमन।

तपाईं प्रिय मान्छेहरूका नाममा या पत्र लेखिरहँदा सम्म मैले  दुईछाक खान सरकारको मुख ताक्नु परेको छैन। न त क्षितिज  परको घर पुग्न पाइला नै चाल्नु  परेको छ। तर पनि मन स्थिर छैन, मन खुसी पनि छैन। मोबाइलको स्क्रिनमा समाचारका हेडलाइनहरू पढिरहँदा तपाईँहरू जस्तै सरकार विहिन र नेपाली हुनुको पाप तपाई भन्दा केही कम भोगी रहेको छु र तपाईँहरूको धैर्यता हेरेर चित्त बुझाइरहेको छु।

सामाजिक सञ्जालमा देखिएका तपाईंहरूका पाइलाहरू, जो तातो पिच रोडमा हिँड्दा हिँड्दै पानी जमेर फोका बनेका छन्। २०६३ सालमा  परिवर्तनका लागि आन्दोलन भनेर हिँड्दा मेरा पाइलाहरू पनि ठ्याक्कै यस्तै फोका उठेका थिए। बिरानो भूमिमा सरकारले महासङ्कटको बेला उद्धार गरिदेला भनेर आशा गरेर  बसेका तपाईंहरूका आशावादी नयन देख्दा  घण्टौँ लगाएर देशमा नै उज्ज्वल भविष्य देखेर  मतदान गर्न अघि बढेका पाइलाका याद आउने रहेछ।

म सम्झन्छु, पोखरा  देखि रोल्पा हिँडेका पाइलाहरुले मतदान गर्न हिँडेको यात्रा सम्झेका होलान्? समृद्ध नेपाल सुखी नेपालीको नारा सम्झेका होलान्?

मैले यसो भनेर सरकार चुपचाप छ, भन्न पनि खोजेको होइन। सरकारले आशैआशाका दर्जनौं निर्णयहरू गरेको छ तर कामको नतिजा कठै भन्न लायक छ। तपाईं हामी जस्ता भुइँमान्छेका पाइलाहरुलाई गन्तव्यमा पुग्न सहयोग गर  भनेर अदालत आदेश दिन्छ तर ठाउँका ठाउँ रोकेर राख भन्ने आदेश प्रधानमन्त्री दिन्छन्। लाग्छ उनको आदेश बेहोसीमा आउँछ। प्रिय भुइँमान्छेका पाइलाहरु, तपाईंहरूका कठोर यात्राका दुखहरू मैले बुझेको छु तर म के नै गर्न सक्छु र? म पनि तपाईँहरू जस्तै भुइँमान्छे न हुँ।

प्रिय महासङ्कटमा हिँडिरहेका पाइला तथा नयनहरू,
म सोच्दिन  भन्दा पनि  आलोचक बन्दिनँ भन्दा पनि, म बाध्य छु। यो सरकारलाई राम्रोसँग थाहा छ, पोखराबाट रौतहट हिँडेका ति पाइलाहरू निर्वाचनको दिनमा पुनः हिड्ने छैनन्। परदेशका ति नागरिक नेपाल आउने होइनन्, कथमकदाचित आइहाले भने पनि तिनले अहिलेका सत्ताधारीहरुलाई मत हाल्ने छैनन्। तर प्रिय भुइँमान्छेहरु, सुकुम्बासीका नाममा बाँड्न लागेका जग्गाले यिनीहरूलाई अर्को निर्वाचन सजिलै जिताइदिन्छन्। त्यसैले राहत पुराउने ठाउँमा लालपुर्जा पुर्याउने खेलमा सरकार छ र जनता हँसाउने खेलमा प्रधानमन्त्री छन्। कोरोना सङ्कटले त्राहिमाम बनाएका बेला देश कङ्गाल बनाउने खेलमा स्वास्थ्यमन्त्री छन्। तपाईँहरूलाई लाग्दो हो, विरोधका लागि विरोध तर लगनको बेला पोते र सिँदुरको आवश्यक पर्छ, चित्ता बनाउने दाउराको होइन भन्ने कसले बुझाउने?

राष्ट्रिय सङ्कटको बेला सरकारले नै हो मुख्य अभिभावकको भूमिकामा रहनुपर्ने, विभिन्न सङ्घसंस्था र नागरिकले समर्थन गरेर सरकारको कार्यलाई सघाउने हो तर जनताले लक डाउनको पालन गरेकोमा नै ठुलो  उपलब्धि  मानीरहेको छ सरकार। आफ्नो जित सम्झीरहेको छ, मख्ख  परिरहेको छ, कोरोना माथिको जित सम्झीरहेको छ। हामीले के नै आशा गरेका छौ सरकार? दुईछाक खान सहज वातावरण बनाइदेऊ, महँगी रोकिदेऊ, बिरामी हुँदा अस्पताल पु¥याईदेऊ। लास माथिको राजनीति नगरी देऊ, यति गर्न सक्दैनौ सरकार? यस्ता प्रश्न आज जनजनका मनमा उठ्न थालेका छन्।

सरकारका भनाइ र बारबार आएका समाचारहरू अनौठो लग्न थालेका छन् अचेल मलाई। हामी कस्तो अवस्थामा छौ जबकी वडाअध्यक्षले  राहत निष्पक्ष  बाँडेको समाचार  ठुलो र अनौठो लाग्छ। नगरपालिकाले नगरवासीको रक्षा गर्छु भन्दा समाचारका हेडलाइन हुन्छ। पाँच दिन खर्चेर काठमाण्डौबाट रोल्पा हिँडेको मान्छे बुटवलबाट उद्धार हुन्छ र पनि हामीलाई भगवान आए झैँ लाग्छ।

प्रिय भुइँमान्छेहरु, पाँच, छ दिन हिँडाइको पीडा, गाउँको स्पर्श र माया भन्दा ठुलो हुने छैन्। हामी कोरोनासँगको यो लडाँई पनि जित्ने छौ। तपाईँहरूसँग यतिबेला म आशावादी पनि छु। आपतमा गाउँ सम्झेर फर्किएका पाइलाहरू अब शहर र विदेशमा ढुङ्गा र सिमेन्टको सङ्घर्षमा फर्किने छैनन्। पहिले भैmँ यि पाखा पखेरामा फेरी हाम्रो पसिना मिसिने छ, अन्नको भकारी स्वदेशमा नै भरिने छ।

कर्म गर फलको आशा नगर भन्ने वाणीमा  विश्वास गरेर बस्ने हामी कुन कर्मको बाटो गलत हिँडीएँछ। गाउँ शहर, स्वदेश विदेश बस्ने आमनागरिकले सोच्न पर्ने बेला आएको छ। प्रिय मान्छेहरू, दोष तपाईको र मेरो बुवाको पुस्ताको पनि हो जो सधैँ वाद र आन्दोलनलाई विकास मान्न पुगे र अब दोष हाम्रो पनि हुँदैछ। हामीपनि मतलाई अधिकार भन्दा धर्म र पाप  मान्दैछौँ। अधिकारलाई पाप र धर्मसँग जोड्दै गए हाम्रो आउने पुस्ता पनि सङ्कटका बेला सरकारको आस मात्रै गर्नेछ अनि बनाउने छ हामीले जस्तै खुट्टामा फोका। मात्र अब म एउटा प्रश्न सहित समयलाई पर्खिरहेको छु आज पैतलामा फोका उठाएकाहरु, विदेशमा मेरो देश छ अनि सरकार छ, पक्कै हाम्रो उद्धार गरिदेला भनेर आशा गरेकाहरूले आगामी चुनावमा मत र मत बदल्ने अदम्य साहस गर्लान्?
प्रिय मान्छेहरू तपाईँहरूको जय होस्, नेपालको जय होस्।

लेखक साझा पार्टी, गण्डकी प्रदेशका सदस्य हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।