डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिसकेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘ भैंसीपाटी र कपन एरियामा आफ्नै फाइबर विस्तार गरी सेवा प्रवाह गरिरहेका छौं ।

तीनकुने–बानेश्वर क्षेत्रमा भने स्पेस टाइम्स नेटवर्क (कम्पनीकै अर्को संस्था सिम टीभी) को मुख्य कम्पनीसँग सहकार्य गरी फाइबर इन्टरनेट दिन थालेका हौं ।’

अबको एक महिनाभित्र कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको छ । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको आचार्यले बताए ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।