– शिव अधिकारी

दूर गाऊँका
सुन्दर बस्तीहरुदेखी
व्यस्त सहरका
अस्तब्यस्त बसोबास सम्म
जहाँसुकै पुगुँ म
मसँगसँगै
तिम्रो नाम जोडिएर आँउछ ।

जहिले, जहाँपनि
तिमीसितै पछ्याइरहन्छ
मेरो पहिचान
अहँ म रहँदा, नरहँदा
तिम्रो पहिचानमा कुनै असर पर्देन
म भलीभाँति जान्दछु
तर,
तिमी झिकेपछि
म चाहिँ खालिखाली हुन्छु
त्यो मलाई थाहा छ ।

जानेर या नजानेर
जे जति बोलेँ
सार्वजनिक समारोह या गोष्ठीहरुमा
प्राय तिम्रै झण्डामुनी बोलेको छु
जे जति लेखेँ
प्राय तिम्रै नाममा लेखेको छु
बिपना मा त तिमीसित बिताएँ अक्सर
आजकाल सपनामा आउन थालेकी छौ ।

जीवनका थुप्रै उतार चढाव
र आरोह अवरोह
मैले
तिमीबाटै सिकेको हुँ
आज जहाँरहेपनि
भुल्ने छैन म तिमीलाई
तिमीलाई नै भुलेपछि
सम्झन बाँकी के रहन्छ र मेरो ?

जवानी
तिमीलाई सुम्पेँ
मैले बाँचेको जीवनको
यौटा लामो हिस्सा
तिमीलाईनै सुम्पेँ
मेरो घरबाहिरको घर
तिमी नै त हौ ।

साथी,सगोत्री,इष्टमित्र
जो खोजे पनि मेरा
अधिकाँश तिमी छौ
या
तिमी जस्तै त छन्
तिमीसितको मेरो प्रेम
अनन्त छ
धरती र आकासको जस्तै
जून र ताराको जस्तै ।

म तिमीलाई प्रेम गर्थे
गर्छु
र गरिरहन्छु ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।