– हरिप्रसाद गौतम


सरकार,
तिम्रो सफेद झुट बिक्यो,
सत्याग्रहीको सत्य बिकेन।
तिम्रो नाङ्गो अत्याचार बिक्यो,
सेवकको  सेवा बिकेन।
यस्तै छ रङ्गिन  दुनियाँ
तिम्रो कालो स्वार्थ पचायो,
निस्वार्थी समाजसेवा पचाएन।

तिम्रो आयातित वाद बिक्यो,
मातृभूमिको सुगन्ध बिकेन।
तिम्रो समाजवादी झोलेवाद टिक्यो,
अरुको समवाद टिकेन।
यस्तै छ रङ्गिन दुनियाँ
तिम्रो बगलिको छुरा टिक्यो,
बुद्धको शान्ति सन्देश टिकेन।

 

राजनैतिक कुनाफाको व्यापार फस्टायो,
जनताको खेतको बाली फस्टाएन।
तिम्रो कुकर्मको पाप लुक्यो,
भोक र रोगले जनताको आशु लुकेन।
यस्तै छ रङ्गिन दुनियाँ
अपराधी पुरस्कृत हुन्छ,
निर्दोष आत्महत्या गर्छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।