एकाबिहानै आँगनमा दाँत माझ्दै थिए एउटा पल्सर बाइक आएर टक्क मेरो अगाडि रोकियो। मान्छे चिन्न सकिन। हेल्मेट र चस्मा निकालेपछी चिने संगै स्कुल पढ्दाको साथी रहेछ। उ नेपाल प्रहरीमा जागिरे थियो। एकछिनको गफ गाफ पछि उ आफ्नो बाटो लाग्यो।

“हेर त..त संगैको साथिले जागिर खाएर घर पनि बनाइसक्यो, त कैले कमाउछस त?” आमाले जिस्काउदै भन्नुभयो। आमाले जिस्केर भन्नू भए पनि त्यो हाँसो पछाडिको निराशा म प्रष्ट पढ्न सक्थे। म केही नबोली टाउको निहुराएर दाँत माझिरहे। मेरो लाचारिपनले मलाई गिज्याइरह्यो ।

म त अब पढ्न सक्दिन यार, प्रहरीमा भर्ती हुन्छु भन्दै SLC परिक्षाको अन्तिम दिन उस्ले भनेको थियो। नभन्दै २-३ महिनामा उ प्रहरीमा भर्ती पनि भएछ। मलाई चाहिँ मेरा बाले त तँ पढ्नुपर्छ भन्दै शहर पठाए। मेरा बा आफु धेरै पढ्नुभएको थिएन तर पनि पढेपछी भविष्य राम्रो हुन्छ भन्नुहुन्थ्यो। म त्यही सपना बोकि पढ्न शहर पसे।

मैले +२ पास गरे साथीले घर बनाएछ। मैले bachelor पास गरे साथीले घरबार जोडेछ। म अझै पढ्नुपर्छ भनेर masters पढ्न थाले साथिको बढुवा भएछ। साथीले कमाएर सम्पति जोड्न थाल्यो, मैले बाउ आमाको टाउकोमा ऋण थपिरहे।

साँच्ची.. पढेर मैले के पाएँ?? कहिलेकाहीँ लाग्थ्यो मध्यमबर्गिय परिवारमा जन्मिएर ठूलो सपना देख्नु पनि नहुने रैछ । फेरि एक मनले सोच्थे सपना तिनैको पूरा हुन्छ जस्ले तिनलाई पूरा गर्ने अठोट लिन्छ। बिहानीको उज्यालो देख्न पनि त अँध्यारो रात काटेकै हुनुपर्छ। शायद त्यहि रात कटाइरहेछु म।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।