• जितेन्द्रराज वली

तपाई हामी सबैले चारैतिर र सबैबाट सुन्दै आइरहेका छौ समृद्धि, समृद्ध राष्ट्र, समृद्ध विश्व, समृद्ध मानिस, समृद्ध नेपाल । कतिपय नेता, योजना निर्माताका लागि यो भजाई खाने भाँडो भएको छ । नेपालले आफ्ना नीति तथा योजनामा पनि समृद्ध नेपाल सुखी नेपाली भनेर उल्लेख भएको देखिन्छ । समृद्धिका धेरै परिभाषा र गन्थन मन्थनले पत्रपत्रिका, सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छनृ । तर पनि ठोस रुपमा कहि कतैबाट यो कसरी हुन्छ, कसरी समृद्धि प्राप्त गर्ने, कसरी समृद्ध भइन्छ र कहाँबाट आउछ भनेर ठोस परिथितिको यथार्थ विश्लेषण अनुसार आएको पाइदैन । एउटा कुरा के हो भने शिक्षा विना समृद्ध भइदैन र समृद्धि प्राप्त हुदैन पनि । यसका लागि शिक्षा सम्बद्ध विद्वत वर्गबाट समृद्धिका योजनाहरु र ति योजनाहरुको कार्यान्वयन, समृद्धि, समृद्ध शिक्षा र शिक्षालाई समृद्धि प्राप्तिको प्रमुख औजारका रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा चर्चा एवम् प्रयोगमा ल्याउनु अति आवश्यक छ । भन्दैमा र लेख्दैमा समृद्धि आउदैन र समृद्ध भइदैन । के, कसरी सृमद्धि आउला र समृद्ध भइएला भन्ने कुराको शिक्षाको नजरबाट यहाँ चर्चा गर्न थालिएको हो ।

के हो त समृद्धि  

नेपाली बृहत् शब्दकोश पल्टाउने हो भने समृद्ध भनेको ‘धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको’ हो र समृद्धि भनेको ‘सम्पन्नता’ हो भन्ने पाइन्छ । समृद्धको अर्को अर्थ ‘उन्नतिशील’ भन्ने पनि हो । समृद्धिको अंग्रेजी शव्द ‘Prosperous’ शब्दावली ल्याटिन भाषाको ‘Prosperare’ बाट उत्पत्ति भएको हो । जसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जाने क्रममा लामो कार्य प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । अक्सफोर्ड डिक्शनरीका अनुसार ‘Prosperity’ को अर्थ सम्पन्न एवं उन्नतिशील हो र ‘Prosperous’ को अर्थ सम्पन्न अवस्था, धनी र सफल हो । उन्नत सामाजिक रूप समृद्धि हो । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । गाँस, बास, कपास स्वास्थ्य, शिक्षाका लागि व्यक्तिसँग पुग्ने आम्दानी छ भने त्यस्तो व्यक्ति सम्पन्न व्यक्ति हुन्छ । यसको अर्थ गुणस्तरीय जीवन र परिवार, व्यक्तित्व विकास, स्वास्थ्य, शिक्षा जस्ता सवै आवश्यकताहरु पुग्नु हो । यसमा शिक्षाले व्यक्तिगत विकास गर्दछ, आर्थिक उपार्जनको ज्ञान, सीप दिन्छ । स्वस्थ र सन्तुलित जीवनशैली शिक्षाबाट नै प्राप्त हुन्छ । विकसित मुलुकमा गुणस्तरिय शिक्षाको प्रत्याभूति छ र त त्यहाँ समृद्धि छ । विकासशील तथा अविकसित देशमा शिक्षा गएगुज्रेको छ र समृद्धि धेरै टाढाको विषयवस्तु बनेको छ । त्यसैले विकसित र विकासशील देशहरुको समृद्धिको परिभाषा, यसका आधारहरु र प्रक्रियाहरु नै फरक छन् ।

समृद्धिका आधारहरु र शिक्षा

क) श्रम संस्कृति : श्रम संस्कृति समृद्धिको आधारभूत पक्ष हो र श्रमप्रति आस्था जगाउने, श्रम गर्नुपर्छ भन्ने भावना र सीप विकास गर्ने प्रमुख औजार शिक्षा हो । उपभोक्तावादी संस्कृति हावी भएको वर्तमान विश्वमा नेपालमा श्रमलाई निच र तुच्छ मान्ने,  हेलाँ होचो गर्ने, श्रमिकलाई समान र सम्मानपूर्ण व्यवहारको कमी छ । पछिल्ला समयमा कमिसन र भ्रष्टाचार मौलाएको, अवैध तौरले धन सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले गर्दा श्रम र श्रमिक जगत उपेक्षित छ । श्रम संस्कृति संस्थागत रुपमा विकास भएको छैन । श्रम गर्न लाज मान्ने कारणले परनिर्भरता झन् धेरै बढेर गएको छ । श्रमप्रतिको हिन भावना हटाउन, श्रमप्रति निष्ठावान नागरिक तयार गर्न र श्रमिक जगतलाई प्रतिष्ठित बनाउन शिक्षाले बालबालिकाहरुमा सानैदेखि त्यसप्रतिको धारणा र अभिवृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । श्रम संस्कृतिलाई आम मानिसको दैनिन्दिनी बनाउन सकेमा मात्र समृद्धि हात लाग्न सक्दछ भनेर समृद्धिका विद्हरुले बताएका छन् । साँचो समृद्धिका लागि श्रम संस्कृति विकासका लागि काम गर्नैपर्ने, काम गरी खाने बानी व्यवहारको आवश्यकता पर्दछ र श्रम संस्कृति विकास गर्ने काममा शिक्षा पहिलो अस्त्र हो ।

ख) कृषिको आधुनिकीकरण, बैज्ञानिकीकरण र व्यावसायीकरण : नेपाल कृषि प्रधान देश हो भन्ने तथ्याङ्कले देखाउँछ भने कृषि उपज धेरै आयात गर्ने मुलूक पनि नेपाल नै हो । कुल गार्हस्थ उत्पादनको एक तिहाई भन्दा बढी योगदान दिने, पैसठ्ठी प्रतिशत भन्दा बढी मानिसहरु निर्भर रहेको र कुल श्रम शक्तिको तीन चौथाई निर्भर रहेको कृषि क्षेत्रको आधुनिकीकरण र बैज्ञानिकीकरण विना समृद्धि आकाशको फल झै हुन्छ र कृषिको आधुनिकीकरण र बैज्ञानिकीकरणका लागि शिक्षा नै महत्वपूर्ण साधन हो । शिक्षाले कृषि सम्बन्धि ज्ञान, सीप र अभिवृत्तिको विकास गर्न सक्दछ र सानैदेखि कृषि पेशाप्रति सकारात्मक भावना जगाउने र कृषिलाई व्यावसायका रुपमा अपनाउने नागरिक तयार पार्ने काममा शिक्षाले महत्वपूर्ण भुमिका खेल्दछ । मौसमी श्रमबाट पूर्णकालिन कृषि श्रमको विकास गर्ने, निर्वाहमुखी खेती प्रणालीबाट व्यावसायीकरण गर्ने, परम्परागत तरिकालाई बैज्ञानिक तौर तरिकाले विस्थापन गर्ने, आधुनिक साधन स्रोतको व्यवस्थापन र परिचालन गर्ने कार्य नगरेसम्म समृद्धि आउदैन र कृषि प्रविधि र कृषि व्यवसायको पठनपाठन र प्रयोगात्मक कार्यबाट कृषिको आधुनिकीकरण, बैज्ञानिकीकरण र व्यावसायीकरण हुन सक्दछ ।

ग) औद्योगीकरण : समृद्धिको मूर्तिकरण गर्ने प्रमुख आधार औद्योगीकरण हो । देशमा उद्योगधन्धा, कलकारखानाको विकास नभएसम्म समृद्धि आउदैन । उद्योग कलकारखानामा काम गर्ने दक्ष जनशक्ति विकास शिक्षाले गर्दछ । शिक्षा विना औद्योगीकरण हुनै सक्दैन । नेपालको उद्योग क्षेत्रमा गार्हस्थ उत्पादनको लगभग पन्ध्र प्रतिशत र जम्मा श्रमशक्तिको तीन प्रतिशत मात्र उपभोग भइरहेको छ भन्ने सरकारी आँकडा छ । समृद्धिका लागि यो धेरै न्यून योगदान हो । यस्तो अवस्थामा शिक्षाले आवश्यक दक्ष जनशक्ति विकास गर्ने, उद्योग व्यवसाय गर्ने ज्ञान, सीप विकास गर्ने काममा महत्वपूर्ण भुमिका खेल्दछ । शिक्षाले अहिले उत्पादन गरिरहेको दक्ष जनशक्ति पनि विदेश पलायन भइरहेको देखिन्छ । Entrepreneur, Entrepreneurship   शिक्षाको विकास र विस्तार नै भएको छैन । राज्यले पनि आवश्यक लगानी र त्यसको प्रवर्धन गर्न नसकेको अवस्था छ । भएका उद्योग कलकारखाना पनि बन्द अवस्थामा छन । यसो हुनुमा शिक्षाप्रतिको द्वैध चरित्र पनि हो । उद्यमकला र उद्यम सीपयुक्त शिक्षाको विकास गरियो र शिक्षालाई प्रत्यक्ष रुपमा उद्योग र उत्पादनसँग जोडियो भने आम आधुनिकीकरण र वैज्ञानिकीकरण सहितको औद्योगिकीकरण सम्भव छ । त्यसैले औद्योगिक शिक्षालाई प्राथमिकतामा नराखी बृहत समृद्धिलाई मूर्तिकरण गर्न सकिदैन ।

घ) रोजगारी : नेपालमा डेढ करोड भन्दा बढी श्रमशक्ति रहेको छ । यस मध्ये झण्डै चालीस प्रतिशत बेरोजगार र रोजगारीमा रहेको जनशक्तिमा पनि झण्डै पचास लाख वैदेशिक रोजगारीमा गएको तथा देशभित्रको खेतीयोग्य जमिन कृषिकर्मबाट बञ्चित छ । निर्वाहमुखी मौसमी कृषिमा विशाल श्रमशक्ति रुमल्लिएको छ । समष्टिगत रुपमा दुइतिहाई बढी श्रमशक्ति बेरोजगार रहेको र चुनाबको समयमा बेरोजगारी भत्ताका नारा दिएर आम मानिसलाई रुमल्याई रहेको देखिन्छ । यस प्रकारको अवस्थालाई साँच्चिकै परिवर्तन गर्ने हो भने शिक्षालाई व्यावसायिकरण नगरि हुदैन । कृषि, औद्योगिकीकरण र पर्यटन जस्ता पूर्वाधारहरुको विकास, देशभर व्यावसायिक शिक्षाको गुणस्तरीय रुपमा विकास र विस्तारले रोजगारीका प्रशस्त अवसरहरु प्रदान गर्दछ । यसका लागी शिक्षालाई आम मानिसको जीवनसँग जोड्नु पर्दछ । रोजगारी सृजना र आर्थिक गतिशीलतामा ध्यान नदिई समृद्धि आउदैन ।

ङ) पूर्वाधार विकास : जग विना घर नबने झै, पूर्वाधार विना विकास संभव छैन र विकास नभई समृद्धि हुदैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीसँग सम्बन्धित पक्षहरु नै पूर्वाधार हुन र यी दैनिक जीवनयापन र गुणस्तरीय विकाससँग प्रत्यक्ष जोडिएका हुन्छन । नेपाल जस्तो अल्पविकसित देशमा पर्याप्त मात्रामा आम विद्युतीकरण, पर्यटन, साना तथा घरेलु उद्योग, सडक, साना सहर, स्वच्छ खानेपानी, अस्पताल, सिंचाई, उन्नत कृषि सडक, सरकारी भवन, बाँध, नहर, रङ्गशाला, विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय, सेवा केन्द्र, पुल पुलेसा, कृषि, पशु व्यवस्थापन जस्ता भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ । गुणस्तरीय जीवनका लागि पूर्वाधार नभई हुदैन र आम मानिसलाई पूर्वाधार विकासमा जोड्ने माध्यम भनेको शिक्षाको विकास र विस्तार हो । योजनाबद्ध रुपमा राष्ट्रिय पुँजीलाई परिचालन गर्नका लागि आवश्यकतानुसारको जनशक्ति चाहिन्छ र जनशक्ति विकास शिक्षाबाट मात्र संभव छ । यता श्रम संस्कृति निर्माण, कृषिको आधुनिकीकरण, औद्योगिकीकरण, रोजगारीको अवसर र लगानीमैत्री वातावरण निर्माण समृद्धिको मूलभूत आधार स्तम्भहरू हुन् । त्यसैगरी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको शतप्रतिशत समानुपातिक र समान उपलब्धता नै समृद्धिको मानक हो ।

समृद्धिका लागि शिक्षा

माथि चर्चा गरियो समृद्धिका आधारहरु र शिक्षाको भूमिका । यी आधारहरु समृद्धिका सूत्रहरु पनि हुन् । समतामूलक समृद्धि, समानुपातिक एवं समावेशी लोकतन्त्र, स्वाधीनता र सार्वभौमसत्ता, सदाचार एवं सुशासन र समुन्नत समाजवाद हासिल गर्न प्रारम्भिक चरणमा हामीले पर्यटन, विद्युत, सडक, सिमेन्ट तथा निर्माण सामग्रीहरु, जडीबुटी प्रशोधन, सिंचाई, कृषिका आधुनिक साधनहरु, खादयान्न तथा तरकारी, पशुजन्य पदार्थ उत्पादन र खपतलाई ध्यान दिनु पर्दछ भने विद्यालय, विश्वविद्यालयको ३६० मा परिवर्तन गरी नयाँ ढाँचा र व्यवस्थापनका साथ शिक्षालाई गुणस्तरीय विकास र विस्तार गर्नु पर्दछ । भौतिक पूर्वाधारका क्षेत्रको विकास गर्ने शिक्षाको विकास देशको शिक्षा प्रणालीले तय गर्दछ । शिक्षाले उद्योग कलकारखानाहरू र औद्योगिकीकरणका लागि आवश्यक जनशक्ति तयार गर्दछ भने कृषि तथा पशु विज्ञानको पठनपाठनले कृषि तथा पशु क्षेत्रलाई आधुनिकीकरण, व्यावसायिकरण र बेमौसमी बनाउदछ । आधुनिक तकनिकीको विकास र विस्तारलाई समृद्धिमा जोड्नका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तल्ला कक्षाबाटै शुरुवात गर्नु पर्दछ । शिक्षा नै यस्तो कडी हो जसले समृद्धि खोल्ने सूत्रको काम गर्दछ । समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो भने उद्यमकलाको ज्ञान, सीप र अभिवृत्तिको विकास गर्ने शिक्षा नै हो । उत्पादनमूलक, व्यावसायिक एवम् प्राविधिक, गुणस्तरीय शिक्षाद्वारा समृद्धि आउद्छ । शिक्षालाई उत्पादनसँग जोड्नु पर्दछ भने प्रविधिलाई चलायमान बनाउने जनशक्ति शिक्षाले तयार गर्दछ । परनिर्भर अर्थतन्त्रलाई अन्तरनिर्भर बनाउने, कच्चा पदार्थहरूको खपत हुने किसिमका उद्योग कलकारखानाहरूको स्थापना र लगानीमैत्री वातावरण, ग्रामीण अर्थतन्त्र उकास्ने साना तथा मझौला उद्योग र व्यवसाय प्रवर्धन गर्ने, मौसमी रोजगारी र उत्पादनलाई सर्वकालिक बनाउने, स्थानीय बजारमुखी र व्यवसायमुखी कृषिको विकास गर्ने नीति विधि निर्माण र कार्यान्वयन गर्ने विकास योजनाको अति आवश्यक छ । यस प्रकारको विकास योजना निर्माण र कार्यान्वयनमा शिक्षाले आँखाको काम गर्दछ ।

समृद्ध शिक्षा

तारे जमिन पर, थ्रि इडियट्स जस्ता चलेका फिल्मका अभिनेता आमिर खान भन्छन् Education is beyond the marks. Education is beyond the grades. It is what you learn and what you apply in your life.  यसबाट हामीले के बुझ्नु जरुरी छ भने शिक्षा भनेको विद्यार्थीले पाएको अंक वा ग्रेड होइन यो त जीवन यापनमा आउने अनुभव, सिप हो, अभिवृत्ती हो । जीवनमा आइपर्ने समस्याहरु समाधान गर्न प्रयोगमा आउनुपर्ने शिक्षा कागजका पानामा प्रमाणित भएको लिखित प्रमाणमा खुम्चिएको छ र त आज हरेक क्षेत्रबाट शिक्षा, यसले जीवनमा पारेको प्रभाव र उपयोगिताका बारेमा आलोचना भइरहेको पाइन्छ । शिक्षाले गरी खाने मान्छे बनाउन सकेन उल्टै बसी खाने बनायो । अनि हामी कसरी समृद्ध बन्छौ । हामी समृद्ध नभई समृद्ध नेपाल र सुखी नेपाली हुनै सक्दैनन् ।

समृद्धिको प्रमुख कुँजी शिक्षा हो भन्ने कुरामा कसैको दुई छैन तर पनि शिक्षालाई समृद्ध बनाउन कसैको ध्यान गएको पाइदैन । बेलायती प्रधानमन्त्रि टोनी व्लेयरले ३ वटा प्राथमिकतामा– पहिलो शिक्षा, दोस्रो शिक्षा र तेस्रो पनि शिक्षा राखेका थिए । शिक्षालाई पहिलो प्राथमिकतामा नराखीकन शिक्षा समृद्ध हुन सक्दैन र शिक्षा आफै समृद्ध नभई समृद्धि प्राप्त हुनै नसक्ने कुरा हो । देशको समानुपातिक विकास, समानता र न्यायपूर्ण समाज, शान्ति, एकरूपता र वैभवयुक्त राष्ट्र विकासका लागि शिक्षाको गुणस्तरीय तवरमा विकास र विस्तार हुनु जरुरी छ । शिक्षालाई समृद्ध बनाउने अल्पकालिन, दीर्घकालिन लक्ष्य र योजना कार्यान्वयनमा ल्याउनै पर्दछ । तर यस्ता सिद्धान्त र कार्यविधिमा नेपालमा धेरै लापरवाही छ । निती, विधि विधानको तय र कार्यान्वयनमा स्वार्थका लागि लट्काईरहनु, योजना निर्माण र कार्यान्वयनमा लापरवाही, शिक्षालाई राजनैतिक स्वार्थ साध्ने साधन बनाइनु, शिक्षा र यससँग सम्बद्धहरुमा फुटाऊ र शासन गर व्यवहार हावी हुनु, नविनतम सिद्धान्त र प्रविधियुक्त नबनाइनु जस्ता केही कारणहरुले गर्दा शिक्षा समृद्ध हुन सकिरहेको छैन भने शिक्षाले समृद्धिमा आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । शिक्षा कोरा रुपमा सैद्धान्तिक मात्र हुन गएको छ । शिक्षाले व्यवहार र मानवतालाई उजागर गर्न नसकिरहेको वर्तमान परिपक्ष्यमा गाउँको मैलाधैला जीवनबाट शहरको सुकिला मुकिलातिर, गरी खाने भन्दा बसी खाने, खटिने नभई खटाउने आधार दिईरहेको छ । जागिरे र बसी खाने जीवनलाई नै गुणस्तरीय जीवन मान्ने अवधारणा विकास गरिरहेको शिक्षालाई व्यावसायिक, सुचना तथा सचार प्रविधियुक्त र जीवन तथा जगतसँग तादाम्यता राख्ने बनाउनु जरुरी छ । समृद्ध शिक्षा विकासका लागि निम्न कुराहरु गर्नु सकिन्छ ।

१. कम्तीमा पनि राष्ट्रिय बजेटको वीस प्रतिशत शिक्षामा लगानी गरिनु पर्दछ र क्रमश: यसलाई बढाउदै लैजानु पर्दछ ।

२. जल, जङ्गल, जमिन, आकाशलाई राष्ट्रिय रूपमा नै उत्पादनमूलक, प्रविधिगत विकासमा व्यवस्थापन गर्नु पर्दछ ।

३. प्रत्येक स्थानीय तहमा बहुउद्देशिय प्राविधिक शिक्षालय स्थापना हुनुपर्दछ ।

४. वर्तमान समयमा चलिरहेको शिक्षाको द्वैध नीति र व्यवहार जस्तै दुई प्रकारको विद्यालयहरु, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षाको माध्यमलाई पूर्णरूपमा हटाएर एकै प्रकारले व्यवस्थापन गरिनुपर्दछ ।

५. आधारभूत तहसम्म अनिवार्य, माध्यमिक तहदेखि प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्थापन गरिनुपर्दछ ।

६. प्रि डिप्लोमा, डिप्लोमा, प्रमाणपत्र तहलाई विद्यालय शिक्षामा समेट्ने नीतिलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्दछ ।

७. निर्माणवादी उपागम, नविनतम सुचना तथा सचार प्रविधियुक्त, समालोचनात्मक चिन्तन, अनुसन्धान, जीवनोपयोगी सीप, बालमैत्री र समावेशी, परियोजना र समस्या केन्द्रित शैक्षिक उपागमहरु विद्यालय शिक्षामा समेटिनु पर्दछ ।

८. आधारभूत तहसम्म एकिकृत र कोर पाठ्यक्रम, माध्यमिक तहदेखि प्रविधियुक्त र व्यावसायिक व्यावसायिक र प्रविधियुक्त पाठ्यक्रम कार्यान्वयनमा ल्याउनु पर्दछ ।

९. . गरेर सिक्ने, व्यवस्थित कक्षाकोठा, तालिम प्राप्त शिक्षक, शैक्षणिक सामग्री तथा पाठ्य सामग्री सहितको शिक्षण सिकाइको अवस्था, निदानात्मक मूल्याङ्कन र उपचारात्मक शिक्षणलाई हरेक दिनको क्रियाकलापमा समेट्नु पर्दछ ।

१०. विज्ञान प्रविधि, इन्जिनियरिङ्ग, कला र गणित शिक्षा (STEAM Education) लाई व्यवस्थित अध्ययन, अध्यापन र सर्वत्र गरिनु पर्दछ ।

११. गुणस्तरीय शिक्षाका पक्षहरु भौतिक, आर्थिक, शैक्षिक, शैक्षणिक, सूचना तथा सञ्चार प्रविधि, वास्तविक मुल्याङ्कन (authentic evaluation), मौलिकता, समाहित, बालमैत्रीलाई उच्चतम रुपमा प्रयोगमा ल्याइनु पर्दछ ।

१२. छात्रावास सहितका विद्यालयहरुमा पुस्तकालय, वाचनालय, विज्ञान प्रयोगशाला, सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला, इन्डोर गेम कोठा, सभाहल लगायतका भौतिक निर्माण र व्यवस्थापनलाई ध्यान दिएर विद्यालयहरुको पुनर्विकास गरिनु पर्दछ ।

१३. प्रत्येक विद्यालयमा स्रोत शिक्षकको रुपमा स्थानीय रुपमा उद्योगी, व्यवसायी, व्यापारी, नागरिक समाजका अगुवाहरु, कृषक, स्वास्थ्यकर्मीहरु, स्थानीय सरकारका प्रमुखहरुलाई आमन्त्रण गर्ने व्यवस्था लागु गर्नु पर्दछ ।

१४. विद्यालय नेतृत्व, व्यवस्थापनलाई चुस्त दुरुस्त, पारदर्शी, उत्तरदायी र समुदायको अङ्गका रुपमा व्यवस्थापन गरिनु पर्दछ ।

अन्तमा नेपालले समृद्ध चाहने हो, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफलीभूत बनाउने हो भने भारतका पूर्व राष्ट्रपति एवम् प्रसिद्ध बैज्ञानिक ए पि जे अव्दुल कलामले भने झै सपना त्यो होइन, जो तपाई निदाएको बेला देख्नु हुन्छ, सपना त ती हुन्, जसले तपाईलाई निदाउन दिदैनन् । निदाउन नदिने सपना बुन्नु जरुरी छ । धेरै ढिला भइसकेको छ । नेपालले अहिले सुतेर समृद्धिको जुन सपना देखेको छ, त्यो कहिल्यै विपना नहुने देखिन्छ । शिक्षामा तत्कालै नीति र विधिको सुत्रपात गरी माथि दिइएका कुराहरुलाई नेतृत्व वर्गले अल्पकालिन, दीर्घकालिन लक्ष्य, उद्देश्य, योजनामा समेटेर कार्यान्वयन गर्न ठोस रुपमा लाग्नुपर्दछ । अन्यथा निदाएको बेलामा सपना देख्ने र ब्यूँझे पछि आहा क्या मिठो सपना देखियो भन्दै बिर्सने भन्दा केही हुदैन ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।