केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र विकास गर्ने र स्थानीयस्तरमा विद्यालयहरुले केन्द्रबाट उपलब्ध गराइने पाठ्यक्रमका आधारमा उद्देश्यहरु पुरा गर्ने गरी पाठ्यपुस्तक पढाउने गर्दछन् जुन केन्द्रीकृत सोचको अभ्यास हो। यस अभ्यासले स्थानीय ज्ञान, सीप र परिवेशलाई समेट्न सकेको छैन भने सिकारुका जीवन्त अनुभवहरुलाई आत्मसात गरेको देखिदैन । शिक्षक समाचारवाचक जस्तो भएर पाठहरु सुनाउने र विद्यार्थीहरुलाई बुझ्यौ भनि सोध्ने अनि विद्यार्थीहरुले बुझ्यौं सर भनि स्वर मिलाउने परिपाटी सामान्यतया चल्दै आइरहेको छ। बाल मनोविज्ञान बुझेर विद्यार्थीहरुका समस्याहरु पहिल्याएर समस्या समाधानमा उनीहरुलाई सहयोग गरेको पाइदैन। २१ औं शताब्दीका समस्या र चुनौतिहरुले घेरीएका विद्यार्थीलाई १८ औं शताब्दीको शैक्षिक सोच, अवस्था र अभ्यास अनुसार पढाएर साँच्चिकै रुपमा सक्षम नागरिक तयार गर्न सकिएला त? के दिनानुदिन जटिल बन्दै गइरहेको जीवनशैलीलाई सहज बनाउन सक्षम नागरिक उत्पादन अहिलेको शैक्षिक अभ्यासले सम्भव छ त? भन्ने प्रश्नमा शिक्षाविदहरु तथा शिक्षा मनोवैज्ञानिकहरु घोत्लिएको पाइन्छ। यीनै प्रश्नहरुको उत्तरको रुपमा अहिले शिक्षामा नविन शैक्षिक अभ्यास आएको पाइन्छ, त्यो हो STEAM शिक्षा। यसै STEAM शिक्षा र हामी शिक्षकले के गर्नुपर्ने रहेछ? कसरी यसलाई विद्यालयका कक्षाकोठाहरुमा लैजान सकिन्छ भन्ने बारेमा चर्चा गर्न थालिएको छ।

विद्यमान शैक्षिक अभ्यास

माथि पनि चर्चा गरियो कि पाठ्यक्रमीय सामग्रीहरु (पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री इत्यादी) केन्द्रले विकास गर्ने र विद्यालयलाई दिएर यसलाई तोकिए अनुसारले कक्षाकोठामा कार्यान्वयन गरी तोकिए अनुसारले सिकाइ उपलब्धि हासिल गराऊ भन्ने प्रकारले शैक्षिक अभ्यास चलिरहेको देखिन्छ। शिक्षकले पनि केन्द्रले जे, जस्तो रुपमा उपलब्ध गराएको छ त्यसलाई खुरु खुरु कक्षाकोठामा लिएको पाइन्छ। आलङ्कारीक रुपमा भन्नुपर्दा शिक्षक समाचारवाचक (Teacher as a newsreader), विद्यार्थी स्रोता (Student as a listener), पाठ्यक्रम कक्षाकोठामा पढाउने विषयसूचि (Curriculum as content list) जस्ता अभ्यासहरु हामीहरुले भोगेको र गर्दै आइरहेको देखिन्छ। विद्यमान शैक्षिक अभ्यासले सवैलाई एउटै आकारको जुत्ता, कपडा ठीक हुन्छ (Same size fits all) भन्ने अभ्यासलाई आत्मसात् गरेको देखिन्छ जुन विद्यार्थीको गराई र भोगाईका जीवन्त अनुभवहरुबाट टाढीएको छ। शैक्षिक सफलताको मापकको रुपमा विद्यार्थीले पाएको अङ्कलाई लिईएको छ। परीक्षाको प्राप्ताङ्कले विद्यार्थीले सिकेको र अनुभव गरेको सम्पूर्ण ज्ञान, सीप, अभिवृत्तिलाई कहिल्यै पनि प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ। तर पनि त्यही मापदण्डको कसीको रुपमा लिईदै आएको पाइन्छ। विद्यालयहरु विद्यार्थीका समस्याहरु समाधान गर्ने उपायहरु दिने, आवश्यक परेका ज्ञान, सीप विकास गर्ने र विद्यार्थीलाई झिकाऊ, सिकाऊ, टिकाऊ र बिकाऊ गराउने हबका रुपमा विकास हुनुपर्ने हो तर त्यसो हुन सकेको देखिदैन भने शिक्षकलाई २१ औं शताब्दीका समस्या र चुनौतिहरुले घेरीएका विद्यार्थीलाई सहयोग गर्ने सहयोगी, पथप्रदर्शक, सहजकर्ताका रुपमा बनाउनु पर्छ भन्ने कुरा केन्द्रीकृत सोचले सोच्न भ्याएको देखिदैन । समस्याहरु स्थानीयकृत हुन्छन तर सोच र अभ्यास केन्द्रीकृत भइरहेका छन्। यस्तो तालमेल नमिलेको शैक्षिक अभ्यासले गर्दा हामी कुहिरोको काग झै हराइरहेको छौ। गन्तव्य खोजीरहेका छौ तर कहिल्यै भेटिएको छैन। बर्षौदेखि सुन्दै, पढ्दै आएको कुरा हो शिक्षण कला हो वा विज्ञान हो वा अरु नै केही चीज हो। कलाकारले आफ्नो कलाकारिताले मान्छेलाई मन्त्रमुग्ध पारी जसरी प्रभाव पार्दछ र जीवनको अर्थबोधको आत्म साक्षात्कार गराउँदछ त्यसरी नै शिक्षाले पनि व्यक्तिलाई शिक्षण प्रक्रियाद्वारा प्रभाव पारी जीवनको अर्थ बोध गराउनुपर्दछ। यस रुपमा शिक्षण कला हो। शिक्षण सहज कार्य होइन यो प्रभावकारी र सिद्धहस्त रुपमा पुरा गर्नका लागि विज्ञानद्वारा विकसित विभिन्न सामग्रीहरुको प्रयोग गरी सिकारुलाई दक्ष, सिपालु बनाउनुपर्दछ। सीपयुक्त कार्य द्वारा विद्यार्थीमा ज्ञान सीप विकास गराउनका लागि आवश्यक सवै प्रकारका उपायहरु प्रयोग गर्न सक्ने बैज्ञानिक ज्ञान सीप शिक्षकले प्रयोग गर्ने भएकाले शिक्षण विज्ञान हो । शिक्षण कला मात्रै नभई विज्ञान पनि हो र यसलाई अलग अलग रुपमा नबुझी शिक्षण कला र विज्ञान दुवै रुपमा बुझ्नु र अभ्यासमा लैजानु पर्छ भन्ने धारणा अनुसार तथा माथि उल्लेखित शैक्षिक अभ्यासका परिदृश्यहरुको समालोचनात्मक प्रतिविम्बन अनुसार हालैका केही वर्ष यता शिक्षणलाई कला र विज्ञान दुवै रुपमा अभ्यासमा ल्याउने, सिकारुलाई उनीहरुका समस्याहरु समाधानमा सहयोग गर्ने, चुनौतिहरुको सामना गर्न सक्षम बनाउने गरी अनुभवाश्रीत सिकाइ गराउने, आफना लागि आफै लागि पर्ने, केन्द्रीकृत विषय सूचि नपढाई मानवलाई पढाउने, जीवनको अर्थ बोध गराउने कला र अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सरल, सहज र सरस जीवन बनाउने, शिक्षक उत्प्रेरक, सहजकर्ता र वातावरण निर्माता भई विद्यार्थीलाई समालोचनात्मक चेतयुक्त सिर्जनशिल नागरिक बनाउने नविनतम शैक्षिक अभ्यासका रुपमा STEAM शिक्षालाई ल्याईएको छ।

STEAM शिक्षा के हो ?

STEAM शिक्षा भनेको नवप्रवर्तनात्मक र सहकार्यात्मकरुपमा विज्ञान (Science), प्रविधि (Technology), इञ्जिनियरिङ्ग (Engineering), कला (Arts) र गणित (Mathematics) शिक्षण सिकाइको एकिकृत रुप हो । विज्ञान (Science) ले अवलोकन र प्रयोगात्मकरुपमा भौतिक र प्राकृतिक संसारको अध्ययन गर्दछ। प्रविधिले कामलाई सरल, सहज बनाउने साधनहरु र समस्या समाधान गर्नमा सहयोग गर्ने ज्ञानलाई जनाउँछ। इञ्जिनियरिङ्गले योजनाका साथ सिर्जना र काममा साधनहरुको प्रयोगलाई जनाउँदछ। कलाले मानवको सिर्जना सिप र कल्पनाको प्रयोग हो भने गणितले संख्या र ढाँचाको अध्ययन गर्दछ र यी सवैको अन्तरविषयक समष्टिगत रुप STEAM शिक्षा हो । परम्परागत रुपमा अलग्गिएको विषयहरुको शिक्षण सिकाइ नभई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै विद्यार्थी आफै सक्रिय सिकारु, सर्जक, समालोचनात्मक चेतयुक्त भई प्रतिविम्बन गर्दै सिक्दै जाने र जीवन र जगतको महशुश गराउने नविनतम शिक्षा STEAM शिक्षा हो । कतिपयले STEAM शिक्षा मात्रै पनि भनेको पाइन्छ । STEM शिक्षामा कलालाई एकिकृत गरी STEAM शिक्षाको अवधारणा विकास गरिएको हो । यी दुवै उही शिक्षा प्रक्रिया हो।

STEAM शिक्षा

  • अन्तरविषयक उपागम हो ।
  • जीवन्त अनुभवहरुमा आधारित हुन्छ ।
  • बास्तविक जीवनका समस्याहरुको समाधानमा केन्द्रीत हुने र परियोजनामा आधारित सिकाइ हो ।
  • एकिकृत शिक्षा हो ।
  • उत्पादनमा आधारित शिक्षण कला हो ।
  • जीवनोपयोगी सिप, पेशागत व्यावसायिक सिपको विकास गर्ने शिक्षा हो ।
  • सार्वजनिक भलाई गर्ने शिक्षा हो र सार्वजनिक पुँजी हो ।

STEAM शिक्षाका प्रक्रियाहरु

STEAM शिक्षाले केन्द्रीकृत विषय सूचियुक्त पाठ्यक्रमलाई नकारेको छ। अन्तरविषयक र बहुविषयक उपागममा आधारित एकिकृत पाठ्यक्रम हुनुपर्दछ। कसैलै कसैलाई पढाउने वा शिक्षण गर्ने भन्दा पनि सिकारु स्वयं सक्रिय भई सिक्ने, विद्यालय समाजको पथप्रदर्शक हुने, शिक्षक सहजकर्ता, सहयोगी र सहसर्जक हुने, विद्यार्थी सक्रिय सिकारु, सिर्जनशिल र २१ औं शताब्दीका चुनौति र समस्याहरुको सामना गर्न सक्षम हुने शिक्षा प्रक्रियालाई अङ्गिकार गरेको छ। जीवनसँग तालमेल नभएका आयातित तथ्य, तथ्याङ्कलाई घोक्ने भन्दा पनि बास्तविक जीवनका समस्याहरु लिने, बुझ्ने, समालोचनात्मकरुपमा विश्लेषण गर्ने र परियोजनामा आधारित भई सिर्जना गर्ने शिक्षा पद्धतिमा जोड दिन्छ । समालोचनात्मक चिन्तन (Critical thinking) का रणनीतिहरु सिकाइमा प्रयोग गरी भुमण्डलिय नागरिक (Global citizen) हुने र अन्तरराष्ट्रिय बजारमा बिक्ने जनशक्ति विकास गर्ने उद्देश्य लिएको STEAM शिक्षा प्रक्रियाले आत्मानुभूति, आत्मसाक्षात्कार र स्वान्त सुखायः जस्ता उच्चतम इच्छा र आवश्यकतालाई पुरा गर्दछ भन्ने यस शिक्षाका हिमायतीहरुको छ ।

STEAM शिक्षामा विद्यालय, शिक्षक र विद्यार्थी

STEAM शिक्षाले विद्यालयलाई एक सामाजिक इकाइका रुपमा लिएको छ र विद्यालयले सबै बालबालिकाहरुलाई विद्यालयमा झिकाउने, टिकाउने, सिकाउने र विकाउने रणनीतिका आधारमा शैक्षिक योजना बनाई विद्यमान परिस्थितिलाई परिवर्तन गरी नयाँपन ल्याउनुपर्ने कुरामा जोड दिएको छ। विद्यालय समाजको एक अगुवा नेतृत्वदायी भूमिकामा रहनुपर्ने, विद्यार्थीलाई सक्रिय, सृजनशिल बनाउन सक्ने सहजकर्ताको रुपमा शिक्षक हुनुपर्ने र रुपान्तरणकारी पाठ्यक्रमलाई कक्षाकोठा बाहिर पनि उत्तीकै रुपमा विद्यार्थीलाई सहभागी गराउन सक्ने शिक्षकको भुमिकामा जोड दिएको छ। उद्देश्यपूर्ति भन्दा पनि उपलब्धिमा आधारित निर्माणात्मक मूल्याङ्कन प्रक्रियालाई STEAM शिक्षाले अंगिकार गरेको छ । सहजकर्ता, सहयोगी र सहसर्जकको रुपमा शिक्षकको भुमिका, आलोचनात्मक चेतयुक्त, सक्रिय सिकारुको रुपमा विद्यार्थीको भूमिका हुनुपर्ने कुरालाई प्राथमिकतामा राखेको छ। शिक्षकले घोकाउने नभई समस्या केन्द्रीत, परियोजनामा आधारित र खोजमूलक सिकाइ प्रक्रियाद्वारा विद्यार्थीलाई एक्काइसौ शताव्दीका समस्या र चुनौतिहरुको सामना गर्नसक्ने क्षमता विकास गराउनुपर्दछ । यसप्रकार वर्तमान अलग अलग रुपमा रहेको खण्डित शिक्षाका कारणले सिर्जित समस्याहरुको फलस्वरुप आएको नविनतम् शिक्षा प्रक्रिया STEAM शिक्षाका बारेमा बुझेर विद्यार्थी सामु पस्कने जिम्मेवारी हामी शिक्षकको हो। हामी शिक्षक उड्नु पर्दछ तव मात्र विद्यार्थी दौड्न सक्दछ र हामीले नयाँपन ल्याउनका लागि पनि यसप्रकारका नविन चिन्तनहरु विद्यालयमा प्रवेश गराउनै पर्दछ।

लेखक शारदा मा वि छिन्चुका प्रधानाध्यापक एवम् पूर्व  श्रोतव्यक्ति हुन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।