काठमाडौँ। आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ। कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौंबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आइतबार विज्ञप्तिमार्फत जनाएको हो। यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ।

नयाँ भाडादरअनुसार यतीले भद्रपुर गन्तव्यका लागि रु ६ हजार २ सय नयाँ टिकट दर कायम गरेको छ। यसअघि कम्पनीले यो गन्तव्यमा रु ९ हजार भाडा लिन्थ्यो। विराटनगरमा साधारण रु ७ हजार ४ सय ५० रहेकामा अहिले घटाएर रु ५ हजार ५०० बनाइएको छ। त्यस्तै भैरहवाको पहिला रु ६ हजार १ सय रहेकामा अहिले रु ४ हजार ९ सय, नेपालगञ्जमा पहिला रु ९ हजार ८ सय ५० रहेकामा अहिले रु ६ हजार ३ सय र पोखरामा साधारण रु ५ हजारबाट घटाएर रु ३ हजार ७०० निर्धारण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा सञ्चालक सङ्घ र सर्वसाधारणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।