काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अमानवीय तवरले कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले प्रहरीमा  आत्मसमर्पण गरेका छन् ।

गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गर्ने उनलाई मलेसियाको प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊविरुद्ध किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कुटपिटको घटना भएको देखियो । यो कुटपिट अमानवीय भएको देखियो । आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न हामीले प्रहरीमा किटानी जाहेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।’

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फि विरोध भएको छ । माथिल्लो दर्जाको भएकै कारण इस्लाममाथि भएको निर्घात कुटपिट अक्षम्य भएको मानवअधिकारवादी केपी सुवेदीले बताए ।

४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

उक्त भिडियो सार्वजनिक भएपछि मेन पावर व्यवसायीको औपचारिक धारणा नआउनु दुःखद् भएको सामाजिक अभियान्ताहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस् ।